Sagun Khabar
रुसी सेनामा भर्ती भएका बैतडीका अर्जुनदत्त भट्टको मृत्यु भएको पुष्टि 

बैतडी –रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका –९ असुरका ४२ बर्षीय अर्जुनदत्त भट्टको मृत्यु भएको पुष्टि भएको छ । उनको लडाईँको क्रममा मृत्यु भएको जानकारी आएको स्थानीय लोकमणी भट्टले बताए । 

नेपाली सेनाबाट अवकाशप्राप्त भट्ट डेढ बर्ष अघि रुस गएका बताइएको छ । २०८० मंसिरसम्म परिवारको सम्पर्कमा रहेका उनी पछिल्लो समयमा परिवारको सम्पर्कमा रहेका थिएनन् । 

डिएनए परीक्षणबाट भट्टको मृत्यु भएको पुष्टि गरिएको बताइएको छ । तर कहिले उनको मृत्यु भएको हो भन्ने कुरा भने एकीन नभएको बताइएको छ । मृतक भट्टका घरमा श्रीमती र एक छोरा रहेका छन् । भट्टको मृत्यु भएको खबर आएपछि हिन्दूसंस्कार अनुसार उनको काजकिरिया भइरहेको मेलौली नगरपालिका–९ का वडा अध्यक्ष लोकराज भट्टले जानकारी दिए । 

Atrya hospital

गाउँकै एक होनहारको युवाको रुसमा मृत्यु भएपछि असुर गाउँ शोकमा डुबेको अध्यक्ष भट्टले बताए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको मेलौली नगर सभापति समेत रहेका थिए । 

परराष्ट्र मन्त्रालयले पछिल्लो पटक भट्टसहित थप २३ जनाको मृत्यु भएको प्ुष्टि गरेको छ । जसमा सुदूरपश्चिमबाट बैतडीका अर्जुनदत्त भट्ट र दार्चुलाका ललितसिंह डोबालको मृत्यु भएको जनाइएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुनको पनि रुस–युक्रेन युद्धमा मृत्यु भएको छ । 

यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगरको पनि मृत्यु भएको छ ।

ठेगाना नखुलेका अन्य १० जना लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारु, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगरको पनि मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनीहरूको पुस ९ यता मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ७३ जना पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update