Sagun Khabar
बैतडीको दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका अन्तर्गतका पाँचओटा माध्यमिक विद्यालयहरुमा आयुर्वेद शिक्षा दिने कार्य शुरु गरिएको छ । 

नगरपालिकाको आयुर्वेद शाखाले पाँचओटा विद्यालय आयुर्वेद तथा योग शिक्षा दिने कार्य शुरु गरेको आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । 

यो बर्ष आयुर्वेद शिक्षाका लागि पाँच ओटा विद्यालय छनौट गरिएका र ती विद्यालयका विद्यार्थीहरुलाई आयुर्वेदका बिषयमा जानकारी दिने गरिएको कलौनीले बताए । 

मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, विरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा यो कार्यक्रम सञ्चालनमा रहेको कलौनीले बताए । 

कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुलाई जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा जानकारी दिने गरिएको छ । यसका साथै स्थानीयस्तरमा पाइने जडीबुटीहरुको संरक्षणका बिषयमा समेत बालबालिकाहरुलाई प्रशिक्षण दिने गरिएको कलौनीले बताए । 

यसअघि पाँचओटै विद्यालय आयुर्वेद तथा योग फोकल शिक्षकहरुलाई तालिम समेत दिइएको कलौनीले बताए । शिक्षकहरुले पनि विद्यालयमा आयुर्वेद र योगका बिषयमा नियमित कक्षा सञ्चालन गर्ने गरेको उनले बताए । 
विद्यालयमा आयुर्वेद तथा योग शिक्षा अन्तर्गत बालबालिकाहरुलाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ । यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।  

योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीहरुलाई आयुर्वेद कार्यक्रम मार्फत जानकारी दिने गरिएको आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले बताए । विद्यार्थीहरुलाई योग शिक्षाको महत्वका बिषयमा समेत जानकारी गराइएको उनले बताए । 

आयुर्वेद औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावको बारेमा जानकारी दिनका लागि विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको कलौनीको दाबी छ । उनले भने ‘योग शिक्षा र आयुर्वेद शिक्षा अन्य विद्यालयहरुमा समेत विस्तार गर्न सके योगका बिषयमा धेरै प्रचारप्रसार हुनेछ । यसले योगको महत्वका बिषयमा सबैलाई जानकारी पनि हुनेछ ।’
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update