
बैतडी –बैतडीको पाटन नगरपालिका –८ राङ्गाजुजौनाका ४५ बर्षीय गणेश महरा मृत्यु प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मृतकका आफन्तले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि पाटन नगरपालिका–८ राङ्गाजुजौनाका नरेन्द्रसिंह महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्त प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
वैशाख ३ गतेका दिन गणेशमाथि कुटपीट गरेको र सोही चोटका कारण उनको मृत्यु भएको जाहेरीमा दाबी गरिएको छ । नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ ।
उक्त घटनामा पक्राउ परेका नरेन्द्रमाथि अनुसन्धान शुरु भइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
गणेशलाई यही वैशाख ३ गते सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि वैशाख १३ गते धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको सारथी अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । गणेशको उपचार सम्भव नभएपछि सोमबार अस्पतालबाट घर ल्याइएको र सोमबार राति नै उनको मृत्यु भएको थियो ।
घटना शंकास्पद भएको भन्दै मृतकका आफन्तजनले अनुसन्धानको माग गरेपछि यो घटनाको अनुसन्धानमा प्रहरी जुटेको छ ।
मृतक महराको शव पोष्टमार्टमका लागि मंगलबार नै जिल्ला अस्पताल बैतडीमा पुर्याएपनि बिशेषज्ञ चिकित्सक नभएको भन्दै शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।