
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसनको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन हुने जनाइएको छ ।
यही जेठ ८ र ९ गते कुलाउ स्वास्थ्यचौकीमा शिविरको आयोजना हुने गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । स्थानीयस्तरमै नागरिकहरुलाई आँखा स्वास्थ्यसम्बन्धी सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिन लागेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
शिविरमा निशुल्क आँखा चेकजाँच तथा औषधी वितरण, मोतीबिन्दु तथा मासु पलाएका बिरामीहरुको निशुल्क शल्यक्रिया र निशुल्क चस्मा वितरण गरिने धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए ।
यस्तै यही जेठ ६ गते गणमेश्वर आधारभूत विद्यालयमा मोतीबिन्दु छनौट शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । वडा नं ५ र ६ का नागरिकहरुका लागि उक्त विद्यालयमा छनौट शिविर सञ्चालन गरिने बताइएको छ ।
मोतीबिन्दु देखिएकाहरुको कुलाउ स्वास्थ्यचौकीमा आयोजना हुने शिविर निशुल्क शल्यक्रिया गरिने बताइएको छ ।