
बैतडी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल र प्रपञ्च भइरहेको बताएका छन् ।
माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जनजागरण अभियान सम्पन्न गरेपछि शुक्रबार बैतडीको पाटनबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार गलत दिशातिर गएको आरोप लगाए । उनले भने, ‘यो सरकार राष्ट्र र जनताको विरुद्ध गएको छ । भ्रष्टाचार संरक्षणमा केन्द्रित छ ।’
माओवादीले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको छ । अभियानको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायत प्रदेश तहका नेता कार्यकर्ताहरु सहभागी छन् ।
अभियान पाटनबाट सुरु भएर सोलुखुम्बुमा समापन हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । ‘जेठ महिनाभर सञ्चालन हुने कार्यक्रम छ । तर बजेटका कारण जेठ १० गते पोखरामा पुगेर केही दिनका लागि स्थगत हुनेछ,’ अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।