
बैतडी–बैतडीको सुर्नया गाउँपालिका, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न विद्यालयहरुमा सञ्चालनमा रहेका किशोरकिशोरी मैत्री सूचना केन्द्रहरु सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, अष्ट्रेलियन एड र नेपाल परिवार नियोजन संघको सहयोग सञ्चालन भइरहेका किशोरकिशोरी मैत्री सूचना केन्द्रहरु हस्तान्तरण गरिएका नेपाल परिवार नियोजन संघ पाटन बैतडीका बरिष्ठ शाखा प्रबन्धक वासुदेव बिष्टले बताए ।
शुक्रबार सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटामा एक कार्यक्रमको आयोजना गरेर सुर्नया र डिलाशैनी गाउँपालिकाका विद्यालयमा सञ्चालित किशोरकिशोरीमैत्री सूचना केन्द्रहरु हस्तान्तरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।
यसअघि पाटन नगरपालिकाका विद्यालयमा सञ्चालित किशोरकिशोरी मैत्री सूचना केन्द्रहरु हस्तान्तरण गरिएका थिए ।
किशोरकिशोरी मैत्री सूचना केन्द्रहरुले विद्यार्थीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका धेरै बिषयमा ज्ञान दिएको र उनीहरुलाई बृहत यौनिकता शिक्षाको बिषयमा समेत जानकारी भएको ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । कार्यक्रममा सहजीकरण गर्दै उनले किशोरकिशोरी मैत्री सूचना केन्द्रहरुले पुर्याएको सहयोगको बारेमा चर्चा गरे ।
किशोरकिशोरी मैत्री सूचना केन्द्र हस्तान्तरण कार्यक्रममा बोल्दै सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले गाउँपालिकाका अन्य विद्यालयहरुमा कार्यक्रम विस्तार गरिने बताइन् ।
यस्तै सुर्नया गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई आगामी दिनमा समेत सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ पाटन, बैतडीका सभापति मानबहादुर चन्दले किशोरकिशोरी मैत्री सूचना केन्द्र विद्यालयहरुमा आवश्यक रहेको र यी केन्द्रहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।