Sagun Khabar
बैतडीमा रेबिजविरुद्ध खोपको अभाव

 बैतडी –बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव भएको छ । देशभर नै रेबिजविरुद्ध खोपको अभाव रहेको र बैतडीमा पनि यो खोप उपलब्ध हुन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले जानकारी दिए । 

कुकुर, बिरालो लगायतका घरपालुवा जनावर र स्याल,ब्वाँसो जस्ता जंगली जनावरहरुले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । रेबिज संक्रमित जनावरले मानिसलाई टोकेमा रेबिज संक्रमण हुने जनस्वास्थ्य निरीक्षक भट्टले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्रमा खोपको अभाव भएको बिषयमा सूचना प्रकाशन गरेर जनावरले टोकेमा अन्यत्रबाट उपचार गराउन आग्रह गरिएको छ । 

यस्तै जिल्ला अस्पातलमा पनि रेबिजविरुद्ध खोपको अभाव रहेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

रेबिजविरुद्धको खोप अभाव भएको सातामै चार–पाँच जना बिरामी फर्किसकेका जनस्वास्थ्य निरीक्षक भट्टले बताए । 

कुनै जनावरले टोकेमा एकजनाले तीन डोज रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर खोपको अभावमा त्यस्ता व्यक्तिहरुलाई फर्काउनु परेको भट्टले बताए । 

नेपाल सरकारले खरीद गरेर स्वास्थ्य कार्यालयमार्फत रेबिजविरुद्धको खोप उपलब्ध हुने भएपनि खोप नै खरीद नहुँदा समस्या भएको बताइएको छ । 

रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको ¥यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ र भाइरस मानिसमा सर्छ । संक्रमित ¥यालले कसैको आँखा, मुख वा खुला घाउबाट संक्रमण हुनसक्ने पनि सम्भावना समेत रहेको हुन्छ । 

रेबिज रोग लागेमा अल्छी लाग्ने,निद्रा लाग्ने वा चिडचिडापन आदि लक्षणहरु मानिसमा देखा पर्ने गर्दछन् । यस्ता लक्षणहरु देखिएमा उसलाई बाँच्न गाह्रो हुन्छ । रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार हुँदैन । रेबिज रोग बहुला कुकुर वा अन्य बहुलाएको जनावरले टोकेमा लाग्छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update