Sagun Khabar
बैतडी कांग्रेसले ४ हजार ६ सय जनाको क्रियाशील सदस्यता नवीकरण गर्यो 

बैतडी–नेपाली कांग्रेस बैतडीले ४ हजार ६ सय ७ जनाको क्रियाशील सदस्यता नवीकरण गरेको छ । तोकेको समयमा सदस्यता शुल्क बुझाएका सदस्यहरुको क्रियाशील सदस्यता नवीकरण गरिएको क्रियाशील सदस्यता अद्यावधिक समितिका संयोजक रमेश बोहराले बताए । 

कांगे्रसको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण गरेको हो । पार्टीको विधान अनुसार शुल्क बुझाएकाहरु नामावली नेपाली कांगे्रसको केन्द्रीय कार्यालयलाई पठाइएको बोहराले बताए । 

कांग्रेसको केन्द्रीय कार्यालयले वैशाख मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रमा नामावली पठाउन गरेको निर्देशन अनुसार सदस्यहरुको विवरण पठाइएको बोहराले बताए । 

केन्द्रीय कार्यालयको परिपत्र बमोजिम तोकिएको शुल्क जिल्ला कार्य समितिमा जम्मा नगर्ने जनप्रतिनिधि, राजनीतिक नियुक्ति प्राप्त व्यक्ति र पार्टी पदाधिकारीहरुको सदस्यता नवीकरण नगरिएको बताइएको छ । 

यस्तै पछिल्लो स्थानीय तह र संघ प्रदेशको निर्वाचनमा अनुशासनको कारवाहीमा परेका, विभिन्न समानान्तर समिति बनाएर नेपाली कांग्रेस बैतडीलाई विवादित र विभाजित बनाउने व्यक्तिहरुको सदस्यता जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार नवीकरण अस्वीकृत गरिएको बोहराले बताए । 

यसअघि बैतडीमा साढे ६ हजार क्रियाशील सदस्य रहेका भएपनि धेरैले नवीकरण नगरेको बोहराले बताए । तोकिएको शुल्क तिरेर यही जेठ १५ गतेभित्र अझै सदस्यता नवीकरण गर्न सकिने नेपाली कांग्रेस बैतडीले जनाएको छ । 
१५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता फारम वडा –वडामा पठाउने कार्य भइरहेको क्रियाशील सदस्यता अद्यावधिक समितिका संयोजक बोहराले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update