Sagun Khabar
बैतडीमा दुई वृद्धामाथि खुकुरी प्रहार प्रकरण : ज्यान मार्ने उद्योगमा अनुसन्धान हुँदै 

बैतडी–बैतडीमा दुई वृद्धामाथि खुकुरी प्रहार गर्ने धनवीर धानुकमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाएको छ । 

घाइतेका आफन्तले दिएको जाहेरीका आधारमा अभियुक्त धानुकमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान शुरु गरिएको उनले बताए । 

जिल्लाको पुर्चौंडी नगरपालिका–६ रपनामा शनिबार बिहान पौने १२ बजेतिर २० बर्षीय धनवीर धानुकले खुकुरी प्रहार गरी सोही ठाउँकी ७० बर्षीया बिखमती धानुक र ६८ बर्षीया दुरोपती धानुकलाई घाइते बनाएका थिए । 

घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपती धानुकको बाँया कानमा चोट लागेको छ । घाइते दुवै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 

पुरानो रिसीइवीका कारण धानुकले दुवै वृद्धामाथि खुकुरी प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक बडूले बताए । घटना हुनुभन्दा तीनचार दिन अगाडि ती दुवै वृद्धाका नातीसंग धनवीरको झगडा भएको र यो भन्दा पहिला पनि घरायसी विवाद रहेका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update