Sagun Khabar
बैतडीको पञ्चेश्वर–५मा निशुल्क मोतीबिन्दु छनौट शिविर सञ्चालन 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका–५ मा निशुल्क मोतीबिन्दु छनौट शिविर सञ्चालन गरिएको छ । गणमेश्वर आधारभूत विद्यालयमा आज शिविर सञ्चालन गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । 

यही जेठ ८ र ९ गते पञ्चेश्वरको कुलाउमा आयोजना हुने निशुल्क आँखा शल्यक्रिया शिविरलाई लक्षित गरेर छनौट शिविर सञ्चालन गरिएको उनले बताए । 

पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए । 

वडा नं ५ मा सञ्चालन गरिएको शिविरमा १ सय ७० जनाको आँखा चेकजाँच गर्दा ३१ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । उनीहरुको कुलाउमा सञ्चालन हुने शिविरमा शल्यक्रिया गरिने चन्दले बताए । यस्तै छनौट शिविरमा ५१ जनालाई चश्मा वितरण गरिएको बताइएको छ । 

गाउँपालिकाबासीहरुलाई स्थानीयस्तरमै आँखा स्वास्थ्यको सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । कुलाउमा सञ्चालन हुने शिविरमा आएर सेवा लिन नागरिकहरुलाई आग्रह गरिएको उनले बताए । आँखाको समस्या भएकाहरुका लागि स्थानीयस्तरमै बिशेषज्ञद्वारा सेवा दिने उद्देश्य रहेको उनले बताए । 

च्यारिटी हेल्थ फाउण्डेसन नेपाल, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरले सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमका स्थानीय सरकारहरुसंग समन्वय गरेर आँखा शिविर सञ्चालनमा सहयोग गर्दै आएको नेत्रालयका अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update