
बैतडी –बैतडीको मेलौली नगरपालिकाले फोहर व्यवस्थापन नगरेको भन्दै स्थानीयहरुले नगरपालिका परिसरमै फोहर फालेर विरोध जनाएका छन् । तल्लोसोराड क्षेत्रको मुख्य बजार मानिने मेलौलीको काँडा बजारको फोहर व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिएको स्थानीयहरुको गुनासो रही आएको छ ।
बजारको बीचमा जथाभावी फालिएको फोहरले आवतजावतमै समस्या भएको स्थानीयहरुले बताएका छन् । फोहर व्यवस्थापनका लागि बारम्बार नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि नगरपालिका परिसरमा फोहर फालेको स्थानीयहरुले बताएका छन् ।
जथाभावी फोहर फाल्दा आफूहरुमा जमीन समेत मासिएको स्थानीय भागरथी चन्दले बताइन् । फोहर व्यवस्थापनका लागि नगरपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
रक्सीका बोतल, प्लास्टिक, सडेगलेका फोहोरदेखि लिएर नकुहिने वस्तुसम्म बजारभरी फालिएको छ । टाढाबाट आउने यात्रुहरू समेत दुर्गन्ध र दृश्यको कारण हैरान भएका छन् । स्थानीयले पटकपटक सरसफाइको माग गर्दा पनि नगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेको छैन् ।