
बैतडी –अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सम्बन्धी प्रधानाध्यापकहरुसंग छलफल गरिएको छ । सामाजिक विकास कार्यालयले दशरथचन्द नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सम्बन्धी आज छलफल गरेको हो ।
अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा ऐन २०७५ मा भएका व्यवस्थाको बिषयमा जानकारी दिने र उक्त ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि प्रधानाध्यापकहरुसंग छलफल गरिएको सामाजिक विकास कार्यालयका प्रमुख शंकरदत्त जोशीले बताए ।
सरकारले अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा ऐन २०७५ मा निशुल्क शिक्षाका साथै विद्यालयहरुमा अनुदानको व्यवस्था समेत गरेको तर अनुदान पाउन मुस्किल भइरहेको प्रधानाध्यापकहरुले बताएका छन् । यथास्थितीमा ऐन कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण रहेको केदारनागार्जुन माविका प्रधानाध्यापक गणेशदत्त जोशीले बताए । यद्यपि ऐन कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।
अनिवार्य तथा निशुल्क आधारभूत शिक्षासम्बन्धी ऐनमा भएका व्यवस्थाका बिषयमा सबै प्रधानाध्यापक तथा शिक्षकहरुले जानकारी राख्नु आवश्यक रहेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए ।
केही ठाउँमा विद्यालयहरुले शुल्क लिएको भन्ने गुनासो समेत आएकाले निशुल्क शिक्षा ऐन कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
यस्तै दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भानदेव भट्टले विद्यालय शिक्षा ऐन नआउँदा समस्या भइरहेको बताए ।
अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सम्बन्धी छलफल जिल्लाका सबै पालिकाहरुमा गर्ने तयारी रहेको सामाजिक विकास कार्यालयका प्रमुख जोशीले बताए । ऐनका बिषयमा जानकारी दिने र जागरुक गराउने उद्देश्यले कार्यक्रम राखिएको उनले बताए ।