
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।
नियमित गर्भजाँच गरेको, वडाभित्र रहेका गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, नियमित स्वास्थ्य सेवा लिएको लगायतका सबै सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने प्रावधान रही आएको छ ।
यो संगै दोगडाकेदारका ८ ओटै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । अब छिटै पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने उनले बताए ।
मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान अन्तर्गत पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका र अब पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने उनले बताइन् ।
दोगडाकेदार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष पार्वती कार्की बिशिष्ट अतिथी रहेकी थिइन् ।
पूर्ण संस्थागत सुत्केरी वडा घोषणा अभियानमा सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान समेत गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।