Sagun Khabar
बैतडी घर भएका पूर्व डिएसपी कार्की रास्वपामा प्रवेश 

बैतडी –बैतडी घर भएका नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) नैनसिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन् । 

दोगडाकेदार गाउँपालिका –६ पन्ज्युनयाँ घर भएका कार्कीले अनलाईन सदस्यता लिँदै रास्वपामा प्रवेश गरेका हुन् । 

पुराना पार्टीहरुले देश विकास र सुशासन कायम गर्न नसकेको र अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको कार्कीको भनाइ छ । समग्र दोगडाकेदारको नेतृत्व गर्दै आगामी दिनमा राष्ट्रलाई योगदान दिने उनले बताए । 
स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका कार्कीले लामो समय नेपाल प्रहरीमा रहेर देशको सेवा गरेका थिए ।

प्रहरी सेवाबाट अवकाश भएपछि उनले आफ्नो गाउँ समाजको विकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । कार्की रास्वपामा प्रवेश गरेपछि आफ्नो पार्टीले एक होनहार नेता पाएको रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए । कार्कीलाई पार्टीमा उचित स्थान दिइने उनले बताए । 

रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै यही जेठ १७ गतेदेखि दोगडाकेदार १ रिमबाट संगठन विस्तारको काम गर्ने तयारी गरेको जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update