
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गन्नातर्फ गईरहेको से १ ज १०६१ नम्बरको जिप आईतबार राति साढे १० बजेको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
दुर्घटनामा डिलाशैनी गाउँपालिका–२ घर भएका जिप चालक वसन्त घरडी घाइते भएका छन् । उनको टाउकोमा चोट रहेको प्रहरी निरीक्षक बडूले बताए । घरडीलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको र उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त जिपमा चालक बाहेक अरु यात्रु नरहेको प्रहरी निरीक्षक बडूले बताए ।
जिप सडकबाट अन्दाजी ५० मिटर तल चौलानी नदीको किनारमा खसेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुुसन्धान जारी रहेको उनले बताए ।