Sagun Khabar
पूर्व प्रधानमन्त्री चन्दको गृह जिल्लामा सक्रियता बढाउँदै राप्रपा

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा संगठन विस्तार अभियानमा तीव्रता दिएको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैैतडीमा संगठनलाई चलायमान बनाउन वडा समिति विस्तार भइरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

जिल्लाका ८४ ओटै वडामा पार्टीको संगठन विस्तार गर्ने अभियान अन्तर्गत वडा समितिहरु गठन गर्ने कार्य भइरहेको राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशव चन्दले बताए । राप्रपाले पार्टीमा पछिल्लो समयमा नागरिकको आकर्षण बढ्दै गएको दाबी समेत गरेको छ । 

जिल्लाका ८४ ओटा वडामध्ये ५० वडा नयाँ समिति गठन गरिसकिएको राप्रपा अध्यक्ष भट्टले बताए । हिन्दू राज्य पुनस्र्थापना, संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपाको एजेण्डमा नागरिकले सहमति जनाउन थालेका अध्यक्ष भट्टले दाबी गरे । उनले भने,‘पछिल्लो समयमा हाम्रो पार्टीमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । हाम्रा एजेण्डका बिषयमा नागरिकलाई बुझाइरहेका छौं ।’

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला भएकाले पनि बैतडीमा राप्रपाले आफ्नो सक्रियता बढाएको छ । वडा समिति गठन गर्ने कार्यको शुरुवातका लागि पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द बैतडी पुगेका थिए । 

त्यसपछि राप्रपाका युवा नेता एवं अभिनेता भुपेन चन्दको समेत सहभागितामा वडा समिति विस्तार गर्ने कार्य भइरहेको सम्पर्क समाजका सदस्य चन्दले बताए । प्रत्येक वडामा समिति विस्तार गरेपछि पालिकास्तरमा समिति गठन गर्ने योजना रहेको राप्रपाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update