Sagun Khabar
बैतडीमा प्रतिबन्धित बिँडी बरामद, जिप चालक र साहु पनि प्रहरी नियन्त्रणमा 

बैतडी–बैतडीमा प्रहरीले भारतबाट ल्याएको प्रतिबन्धित बिँडी बरामद गरेको छ । करीब ३ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिबन्धित बिँडीसहित जिप चालक र साहुलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

प्रतिबन्धित बिँडी ओसारपोसार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी टोली र पुरघाट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले पुर्चौडी नगरपालिका –१० विजयपुरबाट बिहीबार बिहानको समयमा बिँडी बरामद गरेको हो । 

विजयपुरबाट हाटतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज १७१३ नम्बरको बोलेरो जिपसहित चालक सिगास गाउँपालिका– २ का २२ बर्षीय मानसिंह धामी र पुचौँडी नगरपालिका– १० विजयपुरका गाडीधनी २८ वर्षीय दिनेश महरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 

बरामद गरिएको प्रतिबन्धित बिँडीसहित गाडी, चालक र साहुलाई आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । उक्त बिँडी भारतबाट अवैध रुपमा ल्याएको बुझिएको छ ।

यसअघि जेठ ४ गतेपनि २ लाख ८२ हजार रुपैयाँ बराबरको प्रतिबन्धित बिँडी बरामद गरिएको थियो । 
 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update