
बैतडी –बैतडीसहित सुदूरपश्चिममा सार्वजनिक सवारी साधन बन्द हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् । सार्वजनिक गाडी कम चल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ ।
बैतडीबाट लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालनमा नरहेका महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका बैतडी संयोजक त्रिलोक थापाले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ लगायतले संयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति गठन गरेर आन्दोलनमा उत्रेका बताइएको छ ।
यातायात व्यवसायीहरुको केन्द्रीय कार्यक्रम अनुसार नै जिल्लामा पनि सार्वजनिक सवारी साधन बन्द रहेका थापाले बताए । सवारी साधन बन्द हुँदा यात्रुहरुलाई केही समस्या परेको भएपनि सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलन गर्नुपरेको थापाले बताए ।
सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई जाने र तराईबाट पहाड आउने यात्रु समस्यामा परेका छन् । यस्तै छोटो दुरीका सवारी साधन समेत बन्द हुँदा यात्रुहरुलाई समस्या भएको छ ।