
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको गुरुखोला स्वास्थ्यचौकीमा प्रमुख लवदेव भट्टले बताए ।
वडाभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
नगरपालिकाका ११ ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणापछि नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी रहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।
हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा र पालिकालाई पूर्णखोप घोषणा गर्ने गरिएको जोशीले बताए । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । ती खोपहरु पाए÷नपाएको एकीन गर्न घरधुरी सर्वेक्षण गर्ने गरिएको र त्यसपछि पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको जोशीले बताए ।
दशरथचन्द नगरपालिका–१ का वडा अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा भएको पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द कार्यक्रममा बिशिष्ट अतिथी रहेकी थिइन् ।
पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीलाई यसको दिगोपनाका लागि नगरपालिकाकातर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आधारभूत स्वास्थ्य सेवामा नगरबासीको पहुँच पुर्याउन आफू क्रियाशील रहेको उनले बताए ।
यस्तै उपप्रमुख कौशिला चन्दले खोप पाउनु हरेक बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले पूर्णखोप सुनिश्चित घोषणा गर्नु आवश्यक रहेको बताइन् । खोप कार्यक्रमले बालमृत्यु रोकथाममा ठूलो सहयोग पुर्याएको उनले बताइन् ।
दशरथचन्द नगरपालिकाका ११ ओटा वडामध्ये वडा नं १, २, ४, ५, ९, १० र ११ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिसकिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । बाँकी रहेका वडाहरु पनि चाँडै पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने जोशीले बताए ।