Sagun Khabar
बैतडीको दशरथचन्दमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘उपमेयरको कोसेली’

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण कार्यलाई निरन्तरता दिएको छ । 

चालु आर्थिक बर्षमा माघ महिनासम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरुलाई यसअघि नै कोसेली वितरण गरिसकेको र माघपछि स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरुलाई अहिले कोसेली वितरण भइरहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए । 

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने, मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित ‘उपमेयरको कोसेली’वितरण गर्ने कार्य भइरहेको जोशीले बताए । 

आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली दिने कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने अर्को उद्देश्य रहेको उपप्रमुख चन्दले बताइन् । उनले भनिन् ‘अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा दिने चलन कम छ । नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि आमा र बच्चाको पोषण स्थितीमा सुधार ल्याउन जागरुक होउन भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं ।’

यो बर्ष नगरपालिकाभरी ४ सय ७५ जना सुत्केरी आमाहरुलाई ‘उपमेयरको कोसेली’वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुमा बच्चा जन्माएका आमाहरुलाई कोसेली दिने कार्य जारी रहेको उनले बताए । 

‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ । सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

दशरथचन्द नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनाउने लक्ष्यसहित ‘उपमेयरको कोसेली’वितरण गर्ने गरिएको बताइएको छ । सुत्केरी अवस्थामा अरु बेलाको भन्दा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले कोसेलीमार्फत पोषण सम्बन्धी जागरण फैलाउने बताइएको छ । 

समुदायमा अझै पनि कतिपय आमाहरुले घरमै बच्चा जन्माइरहेकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको संख्या वृद्धिका लागि कोसेलीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । अझै पनि ३० प्रतिशत आमाहरुले घरमै बच्चा जन्माइरहेका अनुमान गरिएको छ । घरमै सुत्केरी हुँदा विभिन्न खालका जटीलता आएर आमा र बच्चाको ज्यान जान सक्ने भएकाले संस्थागत सुत्केरीको संख्या बढाउन कोसेली वितरण गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

स्वास्थ्य संस्थामै सुत्केरी हुने र नेपाल सरकारको प्रोटोकल अनुसार ८ पटक गर्भजाँच गराउने आमाहरुलाई सरकारले २ हजार ८ सय रुपैयाँ प्रोत्साहन भत्ता समेत दिँदै आएको छ । सुत्केरी तथा गर्भवती आमाहरुलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

यस्तै टीटी खोप, जुकाको औषधी र आइरन चक्की नेपाल सरकारले गर्भवती तथा सुत्केरी आमाहरुलाई निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । 

संस्थागत सुत्केरीको संख्या बढाउन तिनै तहका सरकारले प्रयास गरेका भएपनि केही आमाहरु अझै पनि घरमै सुत्केरी हुने गरेको तथ्यांक रहेकाले यो चुनौतीको बिषय भएको जोशीले बताए ।

आज दशरथचन्द नगरपालिका–१ का आमाहरुलाई कोसेली वितरण गर्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यलाई प्राथमिकता राखेको बताए । 

यस्तै उपप्रमुख चन्दले कोसली वितरण गर्दै सुत्केरी आमाहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरिन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update