
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । हरेक बर्षजस्तै यो बर्ष पनि पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदले बताइन् ।
शिवनाथ गाउँपालिकाका ६ ओटै वडाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ३ जना बालबालिका र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार १ सय २५ जना बालबालिकाहरुले खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
गाउँपालिकामा पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिनका लागि सरोकारवालाहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न घरघरमै पुगेर घरधुरी सर्वेक्षण गरिएको थियो । वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
नेपाल सरकारले बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध निशुल्क खोप उपलब्ध गराउँदै आएको छ ।