
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकी लगातार उत्कृष्ट बन्दै गएको छ ।
सीमित श्रोत साधनको बीचमा सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकी उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । स्वास्थ्य कार्यालयले बैतडीका १० ओटा उत्कृष्ट स्वास्थ्य संस्थाहरुलाई मंगलबार सम्मानित गरेको छ । ती १० ओटा मध्ये सुर्नया गाउँपालिका वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकी पनि परेको छ ।
गाउँपालिकाको उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा दर्ज भएको भौनेली स्वास्थ्यचौकी जिल्लाका उत्कृष्ट १० संस्थाभित्र अटाएपछि निकै खुशी लागेको स्वास्थ्यचौकीका प्रमुख महराले बताए ।
स्वास्थ्यचौकीस्तरीय न्यूनतम सेवा मापदण्डका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरु छनौट गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।
भौनेली स्वास्थ्यचौकीले आफ्नै पहलमा स्वास्थ्यको क्षेत्रमा नवीनतम् कामहरु समेत सञ्चालनमा ल्याएको छ । स्वास्थ्यचौकीले आफ्नै बार्षिक क्यालेण्डर बनाएर कार्यक्रमहरु सञ्चालन गर्ने गरेको महराले बताए ।
यस्तै स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरुको घरघरै गएर स्वास्थ्य परीक्षण गर्नुका साथै बेलाबेलामा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई समेत गर्ने गरेको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको रुपमा रहेको भौनेली स्वास्थ्यचौकीले किशोरकिशोरीहरुका लागि अलगै कक्षको व्यवस्था गरेको जनाएको छ ।