Sagun Khabar
मणिलेक मावि काँडाका विद्यार्थीलाई झोला वितरण 

बैतडी –बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक नमूना मावि काँडा मेलौलीका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । 

कपडा बैंक बैतडी र प्रयास नेपालका अध्यक्ष मनि जोशीको समन्वयमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले बताए । 

बृहस्पति विद्यासदन स्कुल नक्साल काठमाण्डौंको सहयोगमा कक्षा १० मा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको संयोजक भट्टले बताए । आर्थिक रुपले विपन्न बालबालिका र जेहेन्दार विद्यार्थीहरुको सहजताका लागि झोला वितरण गरेको बताइएको छ । \

विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेकोमा कपडा बैंक बैतडीलाई धन्यवाद दिइएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए । 

कपडा बैंक बैतडीले यसअघि पनि विभिन्न विद्यालयमा पोशाक र झोला वितरण गरेको थियो । 

‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ’ भन्ने अभियानसहित कपडा बैंकले समस्यामा परेका बालबालिका र अन्य नागरिकलाई सहयोग गर्दै आएको छ । 

बैतडीको शाहीलेकमा सञ्चालित कपडा बैंकले मेलौलीमा पनि शाखा सञ्चालन गरेको छ । उक्त शाखामार्फत पनि विपन्न नागरिकलाई लुगाकपडा वितरण गर्ने कार्य भइरहेको भट्टले बताए । 

लामो समयदेखि सामाजिक कार्यमा सरीक हुँदै आएका कपडा बैंकका संयोजक भट्टले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगका लागि विद्यालय पोशाक र झोलाको व्यवस्था गर्ने गरेको बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update