
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले टुहुरा बालबालिकाहरुलाई पढाइ खर्च उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाभित्र रहेका आमा–बुवा गुमाएका बालबालिकाहरुलाई हरेक बर्ष पढाइ खर्च उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । २०७६ सालदेखि गाउँपालिकाले टुहुरा बालबालिकाहरुलाई पढाइ खर्च उपलब्ध गराउँदै आएको उनले बताइन् ।
गत बर्ष गाउँपालिकाभित्र रहेका २२ जना टुहुरा बालबालिकाहरुलाई बार्षिक २० हजारका दरले पढाइ खर्च उपलब्ध गराएको उपाध्यक्ष कार्कीले बताइन् । बालबालिकाहरुको बैंक खाता खोलेर उनीहरुको खातामा रकम जमा गर्ने गरिएको उनले बताइन् ।
यो बर्ष टुहुरा बालबालिकाहरुलाई पढाइ खर्च उपलब्ध गराउनका लागि तथ्यांक संकलनको काम भइरहेको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख चित्रा भट्टले बताइन् ।
टुहुरा बालबालिकाहरुको पढाइमा समस्या नहोस भनेर बालबालिकाहरुलाई खर्च उपलब्ध गराउने गरेको उपाध्यक्ष कार्कीले बताइन् । उनले भनिन्, ‘हामीले हरेक नागरिकलाई स्थानीय सरकारको अनुभूती होस भनेर काम गरिरहेका छौं । पैसाको अभावमा बालबालिकाहरुको शिक्षा ग्रहण गर्ने कुरामा समस्या नहोस भनेर हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’