
बैतडी–बैतडीका विद्यालयहरुमा सञ्चालित किशोरकिशोरीमैत्री सूचना केन्द्रहरु प्रभावकारी बन्दै गएका छन् । किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा जानकारी दिनका लागि यस्ता केन्द्रहरु प्रभावकारी बनेका विद्यालयहरुले जनाएका छन् ।
जिल्लाका विभिन्न विद्यालयमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ, स्थानीय तह र विद्यालयहरुको सहयोगमा किशोरकिशोरीमैत्री सूचना केन्द्रहरु सञ्चालनमा रहेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्रहरु सञ्चालनमा आएपछि बालबालिकाहरुमा धेरै परिवर्तन आएको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए ।
किशोरकिशोरीमैत्री सूचना केन्द्रबाट महिनावारी सरसफाइका साथै यौन तथा प्रजनन स्वास्थ्य र बृहत यौनिकता शिक्षाका बिषयमा जानकारी भएको दशरथचन्द माविकी छात्रा मुस्कान धामीले बताइन् । किशोरकिशोरीमैत्री सूचना केन्द्रमा साप्ताहिक रुपमा छलफल समेत गर्ने गरिएको उनले बताइन् ।
किशोरकिशोरीमैत्री सूचना केन्द्रमा बालविवाह न्यूनीकरण, महिनावारी सरसफाइ, यौन तथा प्रजनन स्वास्थ्य, बृहत यौनिकता शिक्षा लगायतका बिषयमा छलफल हुने गरेको अर्का छात्र देवेश जोशीले बताए । यस्ता छलफलले किशोरकिशोरीहरुलाई धेरै फाइदा पुगेको उनले बताए । उनले भने, ‘यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा पहिला छलफल हुने गरेको थिएन् । किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएपछि यो बिषयमा छलफल हुने गरेको छ । यसले हामीहरुलाई धेरै फाइदा भएको छ ।’
दशरथचन्द नगरपालिकाका ७ ओटा विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्रहरु सञ्चालनमा रहेका छन् । ती केन्द्रहरुलाई निरन्तरता दिँदै थप विद्यालयहरुमा समेत यस्ता सूचना केन्द्र सञ्चालनमा ल्याइने दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए ।
यौन तथा यौनिकता बिषयमा छलफल गर्न नचाहने समाजमा किशोरकिशोरीमैत्री सूचना केन्द्रले यस्ता बिषयमा छलफल गर्ने बानीको विकास गरेको नगर प्रमुख जोशीले बताए । उनले भने, ‘विकास भनेको सडक खन्नुमात्रै होइन् । सबै बिषयको ज्ञान लिनु, हानिकारक प्रचलन हटाउनु पनि विकास हो । हानिकारक प्रचलन हटाउन किशोरकिशोरीमैत्री सूचना केन्द्रहरुले ठूलो भूमिका खेलेका छन् ।’
नेपाल परिवार नियोजन संघले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा जिल्लाका विभिन्न स्थानमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरेको र ती केन्द्रहरु अहिले स्थानीय सरकारलाई हस्तान्तरण गरेको नेपाल परिवार नियोजन संघ पाटन, बैतडीका बरिष्ठ शाखा प्रबन्धक वासुदेव बिष्टले बताए ।
किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यालयमा किशोरकिशोरीहरुलाई धेरै फाइदा पुगेकाले यी केन्द्रहरु सञ्चालनमा स्थानीय सरकारले अग्रसरता लिनुपर्ने नेपाल परिवार नियोजन संघ बैतडीका सभापति मानबहादुर चन्दले बताए ।