
बैतडी–बैतडीको सिगास गाउँपालिकाको केन्द्र जोड्ने श्रीभावर–दोगाड–गर्जे सडक कालोपत्रेको काम यसै बर्षदेखि अघि बढ्ने भएको छ ।
विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत उक्त सडकलाई कालोपत्रे गरिने सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।
सडक कालोपत्रे गर्ने कामलाई अघि बढाउन गत मंसिरमा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार सडक कालोपत्रे गर्ने कार्यलाई अघि बढाउन विश्व बैंकको टोली, पूर्वाधार विकास कार्यालय र गाउँपालिका अध्यक्षसहितको टोलीबीच छलफल भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।
छलफलमा श्रीभावर–दोगाड–गर्जे सडकलाई कालोपत्रे गर्ने कार्य तत्काल अघि बढाउने बिषयमा केन्द्रित रहेर कुराकानी भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उक्त सडक कालोपत्रे गर्नका लागि डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सडक कालोपत्रे गर्ने कार्यलाई अघि बढाउन आगामी आर्थिक बर्षका लागि १६ करोड बजेट विनियोजन भइसकेको बताइएको छ ।
साढे २६ किलोमिटर लम्बाइको श्रीभावर–दोगाड–लेक–गर्जे सडकको ट्रयाक गाउँपालिकाको केन्द्रसम्मै खोलिसकिएको छ ।
नेपाल सरकार र विश्व बैंकबीच पालिकाको केन्द्रमा सडक नपुगेका पालिकाका केन्द्रहरुमा सडक पुर्याउने सहमति अनुसार यो सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सडक कालोपत्रे गर्ने कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष धामीले बताए ।
सिगास गाउँपालिकाको केन्द्रसम्म पक्की सडक निर्माण भएमा स्थानीयहरुले सहज हुने विश्वास गरिएको छ ।