
बैतडी–बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले शिक्षालयमार्फत सञ्चालन भइरहेका प्राविधिक बिषयका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने निर्णय भएको शिक्षालयका प्रमुख एवं सञ्चालक समितिका सदस्य सचिव जीवनदत्त पन्तले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकले भीमदत्त बहुप्राविधिक शिक्षालयमा पठनपाठन भइरहेका प्राविधिक शिक्षाका बिषयहरुलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय भएको हो ।
यस्तै शिक्षालयमा हेल्थ असिष्टेन्टको पढाइ सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन समेत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी)लाई आग्रह गरिएको पन्तले बताए ।
पाटनमा २०७५ सालमा स्थापना भएको भीमदत्त बहुप्राविधिक शिक्षालय सीटीइभीटीको आंगिक शिक्षालयको रुपमा रहेको छ । यो शिक्षालयमा अहिले ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर, ३ बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र ३ बर्षे डिप्लोमा इन फार्मेसीको पढाइ भइरहेको छ ।
न्यूनतम शुल्कमा दुर्गम क्षेत्रका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच बढाउन शिक्षालयले महत्वपूर्ण भूमिका खेलेको पन्तले बताए ।