
बैतडी–बैतडीको इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटमा पहिलो पटक शाखा अधिकृत हाजिर भएका छन् ।
शाखा अधिकृत शंकरबहादुर बोहरालाई गृह मन्त्रालयले इलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा पठाएपछि उनी यसै हप्ता कार्यालयमा हाजिर भएका हुन् ।
इलाका प्रशासन कार्यालय पुर्चौंडी हाट २०७३ साल असारमा स्थापना भएको थियो । त्यसयता इलाका प्रशासन कार्यालयले पहिलो पटक शाखा अधिकृत पाएको हो ।
इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत बोहरा हाजिर भएसंगै कार्यालयबाट नागरिकता प्रमाणपत्र, नाबालिग परिचय पत्र, राष्ट्रिय परिचयपत्र जारी गर्ने कार्य भइरहेको छ । कार्यालयमा पुर्चौंडी नगरपालिका भित्रका सेवाग्राहीहरुले सेवा लिइरहेका इलाका प्रशासन कार्यालय पुर्चौंडीका प्रमुख बोहराले बताए ।
सरकारले दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि इलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत बोहरा हाजिर भएपछि पुर्चौंडीबासीलाई नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि शाखा अधिकृत नहुँदा कागजात जम्मा गरेर जिल्ला प्रशासन कार्यालय पुर्याउनुपर्ने बाध्यता रही आएको थियो ।
इलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा कार्यरत बोहराले यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीमा प्रशासकीय अधिकृतको रुपमा रुपमा काम गरिसकेका छन् ।
इलाका प्रशासन कार्यालयबाट प्रदान हुने सेवाहरु निर्धक्क रुपमा लिन उनले सेवाग्राहीहरुलाई आग्रह समेत गरेका छन् ।