
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।
हरेक बर्ष खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
दशरथचन्द नगरपालिकाका ११ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ८३ जना र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार ३ सय ९ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।
दशरथचन्द नगरपालिकालाई २०७० सालमा नेपालको पहिलो पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिँदै आएको छ ।
पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध निशुल्क रुपमा खोप दिने गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नगरबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताए ।
यस्तै उपप्रमुख कौशिला चन्दले खोप पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।
नगरप्रमुख जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीका साथै जिल्लास्थित सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यसैबीच दशरथचन्द नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणामा सहयोग गर्ने खोप कार्यकर्ताहरुलाई सम्मान गरिएको छ । ११ ओटै वडाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना खोप कार्यकर्ताहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।