
बैतडी–बैतडीको सुर्नया गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।
गाउँपालिकाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ३ सय ५२ जना र १६ महिनादेखि ५९ महिनासम्मका १ हजार २ सय ३३ जना बालबालिकाहरुले खोप पाएका बताइएको छ । बालबालिकाहरुले खोप पाए÷नपाएको बिषयमा घरधुरी सर्वेक्षण गरिएको थियो ।
गाउँपालिकालाई हरेक बर्ष पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने गरिएको छ । यसको निरन्तरता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध राष्ट्रिय खोप तालिका अनुसार खोप दिने गरिएको छ ।
गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले गाउँपालिकाबासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन आफू प्रतिबद्ध रहेको बताए ।
यस्तै उक्त कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहराले बालमृत्युदर रोक्नमा खोप कार्यक्रम निकै प्रभावकारी रहेको बताइन् ।
गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहरा, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यसैबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणमा सहयोग पुर्याएको भन्दै ८ ओटै वडाका स्वास्थ्य संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।