Sagun Khabar
बैतडी अस्पतालमा आँखा शिविर सञ्चालन, पहिलो दिन ८५ जनाको शल्यक्रिया गरियो 

बैतडी –जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ८५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । अस्पतालमा आजदेखि शिविर शुरु भएको छ । 

उक्त शिविरमा पहिलो दिन ३८ जना पुरुष र ४७ जना महिलाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टले जानकारी दिए । यस्तै शिविरमा १ सय ५४ जना पुरुष र १ सय ४९ जना महिला गरेर ३ सय ३ जनाको आँखा परीक्षण गरिएको उनले बताए । 

जिल्ला अस्पताल बैतडी, दशरथचन्द नगरपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयुक्त आयोजना तथा नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको छ । शिविर भोलि पनि जारी रहने नेत्र अधिकृत बिष्टले बताए । 

दुर्गम क्षेत्रका नागरिकहरुलाई उनीहरुकै स्थानमा सेवा दिने उद्देश्यले गेटा आँखा अस्पतालले बेला–बेला शिविर सञ्चालन गर्दै आएको छ । यसले आँखाका बिरामीहरुलाई सहज हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update