
बैतडी–बैतडीको मेलौली नगरपालिका–२ मा बालविवाह, लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा अन्तरक्रिया सम्पन्न गरिएको छ ।
वडाभित्रका किशोरकिशोरी र अभिभावकहरुको सहभागितामा सोमबार उक्त अन्तरक्रिया सम्पन्न गरिएको हो ।
बालविवाह न्यूनीकरणका लागि अभिभावक र किशोरकिशोरीहरुलाई सक्रिय बनाउन अन्तरक्रियाको आयोजना गरिएको मेलौली नगरपालिका–२ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए ।
बालविवाहले पार्ने असर र कानुनी प्रावधानका बिषयमा सहभागीहरुलाई जानकारी गराइएको सहजकर्ता कुन्ती भट्टले बताइन् ।
अन्तरक्रियामा लैङ्गिक हिंसाका कारण र समाधानका उपायका बिषयमा पनि छलफल भएको छ । यस्तै यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा समेत अन्तरक्रियामा छलफल गरिएको उनले बताइन् ।
विभिन्न कारणले अझै पनि समाजमा बालविवाह भइरहेकाले यसको अन्त्यका लागि समाजका सबै पक्ष लाग्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । किशोरकिशोरीहरुलाई शिक्षाको पहुँच बढाउनुपर्ने र बालविवाहले पार्ने असरका बारेमा अभिभावकहरुले जानकारी दिनुपर्नेमा जोड दिइएको छ ।
किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा वडाले थप बजेट र कार्यक्रम ल्याउने वडा अध्यक्ष भट्टले बताए । यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरुले समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि सहयोग पुर्याउनेमा उनले जोड दिए ।