Sagun Khabar
बैतडीमा आँखा शिविर : १ सय ४५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया 

बैतडी–जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शिविरमा १ सय ४५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । 

सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा ५ सय १६ जनाको आँखाको परीक्षण गरी आवश्यक औषधी उपलब्ध गराएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टले जानकारी दिए । 

जिल्ला अस्पताल बैतडी, दशरथचन्द नगरपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयुक्त आयोजना तथा नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

दुर्गम क्षेत्रका नागरिकहरुलाई उनीहरुकै ठाउँमा आँखा स्वास्थ्यको सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको नेत्र अधिकृत बिष्टले बताए । 

यसअघि गएको जेठ ३० र ३१ गते डोटीको वायलमा सञ्चालन भएको शिविरमा १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । उक्त शिविरमा २ सय ७९ जनाको आँखा परीक्षण गरिएको नेत्र अधिकृत बिष्टले बताए । 

नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना र केआइसिंह गाउँपालिकाको सहयोगमा वायलमा शिविर सञ्चालन गरिएको थियो । 

गेटा आँखा अस्पतालले हरेक बर्ष सुदूरपश्चिम विभिन्न जिल्लाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरबाट आँखाको समस्या भएका नागरिकहरुले सेवा पाउने गरेका छन् । आर्थिक तथा अन्य कारणले आँखाको उपचार गर्न नपाएका नागरिकहरुका लागि यस्ता शिविरले सहयोग पुग्ने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । 

आफ्नै ठाउँमा निशुल्क रुपमा सञ्चालन भएको शिविरमा आँखाको शल्यक्रिया गर्न पाउँदा नागरिक पनि खुशी भएका छन् । बुढेसकालमा आँखाको ज्योति फर्किएपछि जेष्ठ नागरिक खुसी भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update