Sagun Khabar
सुर्नयाको ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली पुग्यो 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोलीले स्थलगत निरीक्षण गरेको छ । 

वडा नं ८ को केही ठाउँमा ठेउला संक्रमण भएपछि विश्व स्वास्थ्य संगठनको टोली पुगेर स्थलगत निरीक्षण गरेको हो । टोलीले आज संक्रमित व्यक्तिहरुको स्वाब संकलन गर्नुका साथै रगतको नमूना समेत संकलन गरेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए । ठेउला संक्रमित व्यक्तिमध्ये ९ जनाको घाँटीको स्वाब संकलन गरिएको छ भने ६ जनाको रगतको नमूना संकलन गरिएको उनले बताए । 

उक्त स्वाब र रगतको नमूना परीक्षणपछि ठेउला नै हो कि अन्य रोग पनि हो भन्ने कुरा पत्ता लाग्ने बोहराले बताए । 

उक्त क्षेत्रका बालबालिका तथा अन्य नागरिकहरु ठेउला संक्रमणबाट प्रभावित भएपछि केदार मावि कठमडा बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरु ठेउलाबाट प्रभावित भएपछि विद्यालय बन्द गरिएको हो । 
गएको १५ दिनयता सुर्नयाको वडा नं ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । ठेउला प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको उनले बताए । 

यस्तै ठेउला प्रभावित क्षेत्रमा सतर्कता अपनाउन गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ । संक्रमित व्यक्तिलाई आइसोलेसनमा बस्नका लागि आग्रह गरिएको छ भने व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

संक्रमित व्यक्तिहरुको शरीरमा बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखा परेका शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बोहराले बताए । बिरामीहरुमा ठेउलाको लक्षण देखिएकाले सोही अनुसार उपचार र परामर्श सेवा सञ्चालन भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update