
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले महिला सञ्जालका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।
वडास्तरमा गठन भएका सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् ।
महिला सञ्जालका पदाधिकारीहरुलाई लैङ्गिका हिंसा न्यूनीकरणका बिषयमा जानकारी दिने, घरेलु हिंसा र कसुर सजाय ऐनका बिषयमा जानकारी दिने, न्यायिक समितिले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
वडास्तरमा रहेका महिला सञ्जालका पदाधिकारीहरुलाई हानिकारक प्रचलन हटाउन र महिलाका पक्षमा भएका कानुनी बिषयमा जानकारी गराइ परिचालनमा सहजता होस भनेर तालिमको आयोजना गरिएको कुँवरले बताइन् ।
देहीमाण्डौंमा सञ्चालन भएको तालिममा वडा नं १, २, ३, ७, ९ र ११ मा रहेका महिला सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
वडा नं ४, ५, ६, ८ र १० का महिला सञ्जालका पदाधिकारीहरुका लागि शुक्रबारदेखि तालिम सञ्चालन हुने बताइएको छ ।
वडास्तरमा रहेका महिला सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धिमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् ।