Sagun Khabar
आगामी बर्षको बजेट र कार्यक्रममा शिक्षा क्षेत्र : सुर्नयामा प्रधानाध्यापकहरुसंग छलफल 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रका सवालका बिषयमा प्रधानाध्यापकहरुसंग छलफल गरेको छ । 

सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर शिक्षा क्षेत्रका समेट्नुपर्ने सवालका बिषयमा छलफल गरिएको हो । 

कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । शिक्षा क्षेत्रको विकास नहुँदासम्म अरु क्षेत्रको विकास सम्भव नभएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने शंकर संस्कृत मावि मूलखटालीका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए । 

भौतिक क्षेत्रको विकासले मात्रै समाज परिवर्तन नहुने भएकाले शिक्षा क्षेत्रमा गाउँपालिकाले लगानी बढाउनुपर्ने रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गोपालसिंह मडैले बताए । 

शिक्षा क्षेत्रलाई सूचना र प्रविधिसंग जोड्न आइसीटी ल्याबको स्थापना गर्नुपर्ने, विद्यालयहरुमा शैक्षिक सामग्रीहरुको प्रबन्ध गर्नुपर्ने, शैक्षिक क्षेत्र सुधारका लागि रणनीति बनाउनुपर्ने कुरामा सहभागीहरुले जोड दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

शिक्षा क्षेत्रमा लगानी बिना र लगानी सहित गर्न सकिने सुधारका बिषयमा पनि प्रधानाध्यापकहरुले आफ्ना धारणा राखेका थिए । 

यस्तै छलफलमा सहभागी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । 

उक्त छलफल कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले भेलाबाट आएका सुझावलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले शिक्षा क्षेत्र सुधारका लागि महत्वपूर्ण सुझाव प्राप्त भएको र यी सुझावको आधारमा बजेट र कार्यक्रम ल्याउन पहल गर्ने बताइन् । 

छलफल कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरुका साथै सुर्नयाका ३९ ओटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update