
बैतडी –बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम शुरु गरेको छ ।
जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ स्थित मणिलेक नमूना माविमा विद्यार्थीहरुका लागि एनसीसी तालिम शुरु गरिएको हो । सोमवारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम शुरु गरएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए । उनका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसीसी तालिममा छनोट गरिएका छन् ।
१५ जना छात्र र १५ जना छात्रा गरेर एक विद्यालयबाट ३० जनालाई छनौट गरिएको छ । उनले भने, ‘विद्यार्थीहरुमा राष्ट्रप्रेम, नेतृत्व विकास,अनुशासन, इमान्दारिताको विकासमा तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
विद्यार्थीहरुलाई एक सय दिनको एनसीसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमा प्रशिक्षित गराइनेछ भने २१ दिनको तालिम क्लोज क्याम्पमा हुने सेनानी थापाले बताए । नागरिक –सैनिक सम्बन्धलाई बलियो बनाउन एनसीसी तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
तालिममा विद्यार्थीहरुलाई राष्ट्रप्रतिको प्रेम, अनुशासन, जवाफदेहिताका बारेमा सिकाइनुका साथै विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षण लगायत विषयमा जानकारी गराइने छ ।
यो तालिमपश्चात विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै उनीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक पुष्पराज जोशीले बताए ।
बालबालिकाहरुलाई राष्ट्रपति जिम्मेवार नागरिक बनाउन एनसीसी तालिमले सहयोग पुर्याउने मणिलेक नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।