Sagun Khabar
बैतडीको झोकालीमा छाला प्रशोधन केन्द्र स्थापना

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ झोकालीमा छाला प्रशोधन केन्द्र स्थापना गरिएको छ । परम्परागत रुपमा छालाको प्रशोधन गरिरहेका नागरिकलाई आधुनिक तरीकाले छाला प्रशोधनमा सहज होस भनेर दशरथचन्द नगरपालिकाले प्रशोधन केन्द्र स्थापना गरेको हो । 

दशरथचन्द नगरपालिकाको पहल र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सहयोगमा झोकालीका १५ जना युवाहरुलाई तालिम दिएपछि प्रशोधन केन्द्र समेत स्थापना गरिएको नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीले बताए । 

५२ दिनसम्म स्थानीय युवाहरुलाई छाला प्रशोधनका बिषयमा व्यवहारिक सीप सिकाइएको जोशीले बताए । तालिमबाट छाला प्रशोधन गरेर जुत्ता बनाउने सीपको विकास भएको युवाहरुले बताएका छन् । तालिमले आफूहरुको परम्परागत सीपलाई आधुनिकीकरण गर्न सहयोग पुगेको झोकालीका स्थानीय हरिश भुलले बताए । 

परम्परागत रुपमा छालाको प्रशोधन गर्दै आएका झोकाली नागरिकको पेशालाई आधुनिक र व्यवसायिक बनाउन तालिम दिइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । सीप सिकेपछि युवाहरुलाई स्थानीस्तरमै रोजगारीको वातावरण सिर्जना भएको उनले बताए । 

छाला प्रशोधन सीप सिक्नेहरुका लागि झोकालीमा तालिम केन्द्रको स्थापना गरिएको नगरपालिकाका रोजगार सहायक दिनेश भट्टले बताए । कच्चा पदार्थ निर्माणका लागि नजिकैको मैडीगाड खोलामा खाड र ट्रस निर्माण गरिएको उनले बताए । 

छाला प्रशोधन केन्द्रको उद्दघाटन गर्दैै नगर प्रमुख जोशीले चुनावका बेला झोकाली युवाहरुलाई रोजगारमूलक सीप दिने कुरा आफूले बोलेको र सोही कुरा पूरा गरेको दाबी गरे । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update