
बैतडी–राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार सुदूरपश्चिमका ५५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी एसईईमा सहभागी भएकोमा ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका हुन् । परीक्षामा सहभागी २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् ।
सुदूरपश्चिमबाट अघिल्लो वर्ष एसइईमा सहभागी भएका ३१.८८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । गत वर्ष सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थी एसइई परीक्षामा सहभागि भएकोमा ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका थिए ।
नतिजा अनुसार यस वर्षको एसईईमा देशभर ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।
नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना ग्रेडेड भएका हुन । यस वर्षको उत्तीर्ण दर गत वर्षको भन्दा १३.९४ प्रतिशतले बढेको छ । गत वर्षको एसइईमा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।