Sagun Khabar
बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु 

बैतडी–बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ बर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतबार मृत्यु भएको स्थानीय समेत रहेका शिक्षक मनोज साउँदले बताए । 

अनिललाई करीब दुई हप्ता अगाडि कुकुरले टोकेको थियो । कुकुराको टोकाइबाट उनको टाउकोमा चोट लागेको थियो । कुकुरको टोकाइबाट घाइते भएका अनिललाई उपचारका लागि धनगढी लगिएको थियो । 

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गरेर तीनदिन अगाडिमात्रै घरमा ल्याएका अनिलको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । आइतबार साँझ ६ बजेतिर डडेल्धुरा नजिक पुग्दा उनको मृत्यु भएको हो । 

कुकुरको टोकाइबाट घाइते भएका अनिलमा रेबिजका लक्षण देखिएका थिए । उनी पानी देख्ने बित्तिकै निकै डराउने भएका थिए । 

जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत अनिलको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको शिक्षक साउँदले बताए । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update