
बैतडी –बैतडीको पाटन नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
हरेक बर्ष खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
पाटन नगरपालिकाका १० ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ९८ जना र १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ६ सय ९९ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।
नगरपालिकालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिँदै आएको छ ।
पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका स्वास्थ्य शाखा प्रमुख महराले बताए । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध निशुल्क रुपमा खोप दिने गरिएको छ ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलको अध्यक्षतमा भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए ।
उक्त कार्यक्रममा उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैबीच पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणामा सहयोग गर्ने खोप कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । १० ओटै वडाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविका गरेर २० जनालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दमयन्ती ऐरले बताइन् ।