
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि गाउँसभामा पेश गरेको बजेट सर्वसम्मत पारित भएको छ । यही असार १० गते सभामा पेश गरिएको उक्त बजेट आज बसेको गाउँसभाले सर्वसम्मत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।
सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट सभामा पेश गरेको र उक्त बजेट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई ध्यान राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । गाउँपालिकाबासीका आधारभूत समस्याहरुलाई समाधान गर्ने हिसाबले बजेट ल्याइएको उनले बताए ।
बजेट महिला, दलित, बालबालिका लगायतका लक्षित वर्गहरुलाई समेत प्राथमिकतामा राखेको उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
आगामी आर्थिक बर्षको बजेटमा लोकसेवा आयोगका कक्षा सञ्चालन गर्ने, युवासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, विधुर सम्मान कार्यक्रम सञ्चालन गर्ने लगायतका बिषयवस्तु समेटिएका प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम असार १० गते सभाबाट पारित भएको थियो ।
‘कृषि पर्यटन र पूर्वाधार, सुर्नया विकासको मूल आधार’नारासहित बजेट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
युवाहरुलाई आन्तरिक रोजगारीमा जोड्नका लागि रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुकाबीच समन्वय गरिने नीति गाउँपालिकाले लिएको छ ।
यस्तै शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि कक्षा ५ को परीक्षा पनि पालिकास्तरीय परीक्षाको रुपमा सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको छ । यसअघि सुर्नया कक्षा ८ को मात्रै पालिकास्तरीय परीक्षा सञ्चालन हुने गरेको थियो ।
सुर्नयामा विद्यालय नर्स कार्यक्रम सञ्चालनका साथै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत प्रभावकारी बनाउने हिसाबले बजेट ल्याइएको छ ।