
बैतडी –बैतडीका सन्तोष पन्त राष्ट्रिय युवा संसदमा विजयी भएका छन् । मेलौली नगरपालिका –५ घर भएका पन्त राष्ट्रिय युवा संसदमा विजयी भएका हुन् ।
राष्ट्रिय युवा संसदको यही असार १५ गते भएको निर्वाचनमा बैतडी क्षेत्र नम्बर १ बाट पन्त विजयी भएका हुन् । राष्ट्रिय युवा संसदका उम्मेदवारलाई अनलाइनबाट मतदान गर्ने व्यवस्था गरेको र अनलाइन भोटिङबाटै आफू निर्वाचित भएको पन्तले बताए ।
राष्ट्रिय युवा संसदले युवाहरुको क्षमता र नेतृत्व विकासमा काम गर्दै आएको छ । आफू युवा संसदमा विजयी भएपछि युवाहरुको हक अधिकार र क्षमता विकासमा सहयोग गर्ने पन्तले बताए ।
सामाजिक क्षेत्रमा क्रियाशील रहेका पन्तले युवाहरुको नेतृत्व विकासबाटै परिवर्तन सम्भव रहेकाले यसमा आफ्नो सक्रियता रहीरहने बताए ।
सुदूरपश्चिमका युवाहरुको आवाजलाई राष्ट्रिय युवा संसदमा जोडतोडका साथ उठाउने पन्तले दाबी गरे ।
राष्ट्रिय युवा संसद नेपालका युवाहरूलाई नीति निर्माण, लोकतान्त्रिक प्रक्रिया, सुशासन, र नेतृत्व विकासमा संलग्न गराउँदै आएको छ । यसले युवाहरूलाई संसद्को कार्यशैली, नीति संवाद,सामाजिक मुद्दाहरूमा छलफल,राजनीतिक सचेतना,समाधान मुखी सोचको विकास र निर्णय प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्राप्त गराउने कार्य समेत गर्दै आएको छ ।