
बैतडी–बैतडीको पाटन नगरपालिका–९ स्थित आधारभूत स्वास्थ्य केन्द्र टकरेलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ बमोजिम तोकिएका मापदण्ड र सूचकहरु पूरा भएपछि स्वास्थ्य केन्द्रलाई बुधबार एक कार्यक्रमकाबीच पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरु पूरा भएपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड पूरा गरेको र १६ ओटा सूचकबाट १५ अंक प्राप्त गरेको हुनुपर्ने महराले बताए ।
यसअघि पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्यचौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । बुधबार आधारभूत स्वास्थ्य केन्द्र टकरे नगरपालिकाको दोश्रो पूर्ण पोषणमैत्री संस्था घोषणा गरिएको हो ।
आधारभूत स्वास्थ्य केन्द्र टकरेलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा बोल्दै पाटन नगरपालिका–९ का अध्यक्ष कालुसिंह भाटले संस्थाले विभिन्न अभावकाबीच उत्कृष्ट सेवा प्रदान गरिरहेको बताए ।
पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, जिल्ला समन्वय समितिका सदस्य करनसिंह कठायत,पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट,वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर लगायतका जनप्रतिनिधि र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।