
बैतडी–गृहमन्त्री रमेश लेखकले अहिलेको संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेको बताए । पछिल्ला ७० बर्षमा नेपालमा सातओटा संविधान फेरिएको चर्चा गर्दै गृहमन्त्री लेखकले अहिलेको संविधान बमोजीमको व्यवस्थालाई अगाडि बढाउनुको विकल्प नभएको बताए । उनले भने, ‘हामीले अहिले दुई ठूला प्रतिस्पर्धी दल मिलेका छौं । यसको एउटामात्रै कारण छ । यो व्यवस्थालाई जोगाउने र राजनीतिक स्थायित्व कायम गर्ने ।’
देशमा पछिल्लो समयमा भएको परिवर्तनलाई जोगाएमात्रै समृद्धि सम्भव रहेको उनले बताए ।
अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढीरहेको र यसकै आधारमा सञ्चालन हुने उनले दाबी गरे । नेपाली कांग्र्रेसले अहिलेको समीकरण फेर्न नहुनेमा जोड दिँदै गृहमन्त्री लेखकले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताए । दुई दलबीचको सहमति अनुसार चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने उनले दाबी गरे ।
सरकारप्रति आइरहेका गुनासा सम्बोधन गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले सरकार सञ्चालनमा केही साना–तिना समस्या रहेपनि ती समस्याहरुलाई हल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘दुई मुख्य प्रतिस्पर्धी दलको संयुक्त सरकार छ । दुवैले मिलेर सरकार चलाउनुपरेको छ । एक–अर्काका प्रतिस्पर्धी दल पनि हौं । त्यसैले केही समस्या भएपनि अहिलेको सरकारको विकल्प छैन् ।’
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसंग आवश्यक सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै महाकाली करीडोरमा बजेटको समस्या रहेको बताउँदै यसमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरे ।
यस्तै सभापति चन्दले जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नति सरकारको ध्यानाकर्षण गराएका छन् । अस्पताललाई ५० शैय्याको सञ्चालन गर्न भौतिक संरचना रहेको भएपनि दरबन्दी र अन्य व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
पारिवारिक भेटघाट र प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजाका लागि बैतडी आएका गृहमन्त्री लेखक असार २१ गते बैतडीबाट फर्कने कार्यक्रम रहेको छ । बैतडी गृहमन्त्री लेखकको जन्मभूमी समेत रहेकाले उनी पारिवारिक र राजनीतिक कार्यक्रममा सहभागी भइरहेका उनको सचिवालयले जनाएको छ ।