
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ स्थित शंकर संस्कृत मावि मूलखटालीले यो बर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ । गत चैतमा सञ्चालन भएको एसईईमा विद्यालयबाट सहभागी भएका ५९ जनामध्ये ५० जना अर्थात ८५ प्रतिशत उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए ।
गाउँपालिकाभित्र रहेका १३ ओटा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ३ सय ५७ जना परीक्षार्थीमध्ये सुर्नयामा १ सय ९५ जना उत्तीर्ण भएका छन् ।
एसईईमा ३ दशमलव ४ जीपीए भन्दा माथि ल्याउने ६ जनामध्ये तीनजना विद्यार्थी शंकर संस्कृत मावि मूलखटालीका रहेका छन् । सुर्नया गाउँपालिकाले एसईईमा ३ दशमलव ४ जीपीएभन्दा माथि ल्याउनेलाई पुरस्कृत समेत गर्ने भएको छ ।
शंकर संस्कृत मावि मूलखटालीका रोहित अवस्थी ३.७३, रोहित कुँवर ३.६५ र करिश्मा अवस्थी ३.५१ जीपीए ल्याएर पालिकाभरी उत्कृष्ट ६ जनामा अटाएका छन् । विद्यालयका तीनजना विद्यार्थी उत्कृष्ट ६ जनाभित्र अटाएकाले निकै खुसी लागेको प्रधानाध्यापक बिष्टले बताए ।
यस्तै वासुदेव मावि लिस्किटाका भुषण शाह ३.५९, वासुदेव माविकै आरती चन्द ३.४२ र रौलेश्वर मावि रामकी बरायलकी इशिका मडै ३.४२ जीपीए ल्याएर उत्कृष्ट ६ जना विद्यार्थीभित्र अटाएका छन् ।
यही असार १३ गते शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुुसार सुर्नयाका ५५ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । गाउँपालिकाभित्र ३.४ जीपीए भन्दा माथि ल्याउने ६ जनामध्ये ३ जना शंकर संस्कृत मावि मूलखटालीका विद्यार्थी रहेका उनले बताए ।
वि.सं. २००९ सालमा स्थापना भएको शंकर संस्कृत माविमा २०३५ सालदेखि माध्यमिक तहको पढाई हुँदै आएको छ । हाल विद्यालयमा कक्षा १२ सम्मको पढाई भइरहेको विद्यालयका प्रधानाध्यापक बिष्टले बताए ।
पछिल्लो समयमा संस्कृत र साधारण दुवैतर्फको पढाइ गरिरहेको विद्यालयले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिइरहेको प्रधानाध्यापक बिष्टको दाबी छ । यसमा अभिभावकहरुको समेत उत्तिकै सक्रियता हुनुपर्नेमा उनले जोड दिएका छन् ।