Sagun Khabar
प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शिवनाथ गाउँपालिकाको छात्रवृति 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । गाउँपालिकाले गएको तीन बर्ष यता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दैै आएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

गाउँपालिकाभित्र स्थायी बसोबास भएका विद्यार्थीहरुलाई छात्रवृतिका लागि आवेदन आह्वान गरिएको र आवेदनबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

यो बर्ष प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने सात जनालाई ४ लाख रुपैयाँ छात्रवृति प्रदान गरिएको गाउँपालिकाका प्राविधिक सहायक रमेश चन्दले बताए । छात्रवृतिका लागि आवेदन परेकामध्ये छात्रवृति व्यवस्थापन समितिले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो । 

गाउँपालिकाले शैक्षिक छात्रवृति व्यवस्थापन कार्यविधि बनाएर सोही अनुसार छनौट भएका विद्यार्थीहरुको खातामा छात्रवृति जमा गरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

आर्थिक अवस्था कमजोर भएकै कारण प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट विद्यार्थीहरु वञ्चित नहोउन भनेर छात्रवृति प्रदान गर्ने गरिएको अध्यक्ष साउँदले बताए । गत बर्ष ६ जनालाई यस्तो छात्रवृति प्रदान गरिएको थियो । 

यो बर्ष शिवनाथ गाउँपालिका–४ कोपरेका आर्जन चन्दलाई एमबीबीएस अध्ययन गर्नका लागि छात्रवृति प्रदान गरिएको छ भने शिवनाथ –३ का धिरेन्द्र साउँदलाई बीसीए अध्ययन गर्नका लागि छात्रवृति प्रदान गरिएको छ । 

यस्तै शिवनाथ –६ बसेडीभ्वाँका अरुणसिंह धनाडीलाई बीइआइटी, शिवनाथ –२ पौखरका महेश कलौनीलाई बीएस्सी एजी, शिवनाथ–५ कुलाकोटका लोकेन्द्रबहादुर चन्दलाई बीइ सिभिल र शिवनाथ –२ शर्मालीका अस्मिता साउँदलाई बीएस्सी एजी अध्ययनका लागि छात्रवृति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update