
बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ८को मल्लोढोले र रातापानी टोलमा पहिरोको जोखिम बढेको छ । गएको बर्ष बर्खामा खसेको पहिरोले दुवै ठाउँका ९ घरपरिवार विस्थापित भएका थिए ।
यो बर्ष पनि बर्षा शुरु भएसंगै पहिरोको त्रास बढेको स्थानीय गीता लुहारले बताइन् । हरेक बर्ष सडकमाथिबाट पहिरो खस्ने गरेको र बर्षा शुरु भएपछि यो बर्ष पनि पहिरो खस्न शुरु भएको उनको भनाइ छ । उनले भनिन्‘यो बर्ष बर्षात शुरु भइसकेको छ । बर्षातको समयमा रातिको समयमा निदाउन समेत पाइँदैन् । पहिरो कतिखेर आउँछ भनेर डर लागिरहन्छ ।’
गत बर्षको भदौमा खसेको पहिरोले रातापानी टोलमा स्थानीयहरुको खेतीयोग्य जमीन बगाएको थियो । यो बर्ष पनि पहिरो त्रास उस्तै रहेको स्थानीय मीनबहादुर बोहराले बताए । पहिरोका कारण बर्षातको समयमा निकै समस्या हुने गरेको उनको भनाइ छ ।
सुर्नया गाउँपालिका वडा नं ८ को मल्लोढोले र रातापानी टोलमा पहिरोको जोखिम रहेको वडा अध्यक्ष भानबहादुर बोहराले बताए । दुवै ठाउँमा हरेक बर्ष पहिरोले क्षति पुर्याउने गरेको उनले बताए । तर पहिरो रोकथामका लागि अहिलेसम्म केही गर्न नसकिएको वडा अध्यक्ष बोहराले बताए । उनले भने, ‘सानोतिनो बजेटले पहिरो रोकथाम गर्न सक्ने अवस्था छैन् । सडकमाथिबाट हरेक बर्ष पहिरो खस्ने गरेको छ । बर्षातको समयमा निकै समस्या हुने गरेको छ ।’
गाउँपालिकाका विपद् प्रभावित क्षेत्रका लागि केही पूर्वतयारी गरिएको भएपनि विपद् व्यवस्थापन योजना भने बनाउन नसकिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । पालिकाकातर्फबाट पहिरो प्रभावित क्षेत्रमा गर्न सकिने सहयोग भइरहेको तर पहिरो रोकथामका लागि ठूलो बजेट चाहिने भएकाले समस्या भएको उनले बताए ।
मल्लोढोलेमा सतबाँझ–श्रीभावर सडकको ट्रयाकका कारण पहिरोको जोखिम बढेको बताइएको छ । उक्त सडक स्तरोन्नतिको काम भइरहेकाले त्यो काम सकिएपछि पहिरोको जोखिम केही कम हुने अपेक्षा गरिएको छ ।