Sagun Khabar
बैतडीमा पनि सुनचाँदी व्यवसायी आन्दोलित, पसल बन्द गरेर सडकमा र्याली

बैतडी–बैतडीमा पनि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय कार्यक्रम अनुसार बैतडीमा पनि आन्दोलनका कार्यक्रम जारी रहेको बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश पौडेलले बताए । 

सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर आज पाटन बजारमा नारासहित र्याली निकालेका छन् । सुनमा लगाइएको १२ प्रतिशत विलासित कर र बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार कर ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियम निर्माण गर्नुपर्ने लगायतका मागहरु राखेर सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रेका हुन् । 

देशभरजस्तै बैतडीमा पनि सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर कारोबार ठप्प पारेका बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष पौडेलले बताए । गएको चारदिनदेखि जिल्लाका सबै सुनचाँदी पसलहरु बन्द रहेका उनले बताए । 

सुनचाँदी व्यवसायीहरुको मागलाई सरकारले सम्बोधन नगरेकाले सडकमा उत्रिनुपरेको बैतडी सुनचाँदी व्यवसायी संघका सचिव लछिराम लुहारले बताए । 

बैतडीका सुनचाँदी व्यवसायीहरुले आज पाटनमा र्याली निकाल्दै कोणसभा समेत सम्पन्न गरेका छन् । बैतडी सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको र्याली र कोणसभामा जिल्लाका विभिन्न स्थानमा रहेका सुनचाँदी व्यवसायीहरुले सहभागिता जनाएका थिए । 

यही असार २७ गते जिल्ला सदरमुकाम गोठलापानीमा र्याली र कोणसभाको आयोजना गरिने अध्यक्ष पौडेलले बताए । सरकारले सुनमा लगाएको कर फिर्ता नगर्दासम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update