
बैतडी–बर्षासंगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–७ स्थित केदार माविको दुई कोठे शौचालय भत्किएको छ । यस्तै खानेपानीको धारा समेत पहिरो बगाएको विद्यालयका शिक्षक कमलबहादुर साउँदले बताए ।
सोमबार राति परेको बर्षाका कारण गुन्याखोलामा पहिरो खसेको र पहिरोले विद्यालयका क्षति पुर्याएको शिक्षक साउँदले बताए ।
खोलाले बगाएर ल्याएको लेदोले विद्यालय भवनका दुईकोठा पुरिएका छन् भने चारकोठे भवन जोखिममा परेको विद्यालयका प्रधानाध्यापक विरेन्द्र चन्दले बताए ।
पहिरोले विद्यालयमा क्षति पुर्याएपछि पठनपाठनमा समस्या हुने भएको छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा अब शौचालयको समेत अभाव भएको छ ।
बर्षातको शुरुवातमै विद्यालयमा क्षति पुगेको र थप जोखिम निम्तिएको प्रधानाध्यापक चन्दले बताए । पहिरोले विद्यालयमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।